हामी नेवारकै छोरा हौं



- चुनबहादुर थामी
सभासद्, एनेकपा (माओवादी), दोलखा

तपाइँ आफूलाई कसरी चिनाउनुहुन्छ?
मेरो नाम चुनबहादुर थामी हो; ५६ वर्षको भएँ। २०३६ सालमा माले पार्टीमा आबद्ध भएँ। २०५१ सम्म त्यही पार्टीमा रहेर दोलखा जिल्ला कमिटी सदस्य भएँ। एमाले वर्ग सङ्घर्षबाट टाढिएपछि २०५२देखि माओवादीमा लागेँ।

थामी थर कसरी रहेको हो?
थामी र दोलखाका नेवारहरू दाजुभाइ जस्तै गरेर भीमेश्वर, त्रिपुरासुन्दरी र मच्छिन्द्रनाथको गुठी चलाउने गर्थ्यौं। हामी पनि नेवारकै छोरा हौँ। तर थामीको छोरीपट्टिबाट जन्मिएकाले हामी थामी कहलियौँ। नेवारहरूले हामीलाई थामी भन्न थाले। दोलखाको तल बजार क्षेत्रमा नेवारहरू र माथितिर हाम्रो बसोबास रहेको छ। नेवारी भाषामा था भनेको माथि र मी भनेको मान्छे हो। यसरी दोलखाको तल्लो भेकमा बस्ने नेवारहरूले माथितिर बस्ने हामीलाई थामी भन्न थाले। त्यसैले नेवार र हाम्रा बीचमा धेरै कुरा मिल्दाजुल्दा छन्। यद्यपि, हाम्रो आफ्नै भाषा छ। पछि आफ्नै दाजुभाइ भए पनि उनीहरूले गुठियारका रूपमा हामीलाई दलाउन थाले; शोषण गर्न थाले।

सभासद् हुनुअघि तपाइँको पेशा के थियो?
खेतीपाती र सिकर्मीको काम गर्थें। घरका झ्याल, ढोका, टेबुल, बेञ्च, खाट, दराज जे पनि बनाउँथेँ।
झ्याल, ढोका बनाउँदा-बनाउँदै संविधान बनाउने ठाउँमा पुग्दा खुसी हुनुभएको होला, होइन?
यसमा खुसी नलाग्ने त कुरै भएन नि!

थामीहरू कतिजना सभासद् छन्?
इतिहासमै हाम्रो जातिबाट सभासद् हुने मै मात्र हुँ। प्रशासन, प्रहरी, सेना कहीँ पनि माथिल्लो तहमा थामीहरू पुगेका छैनन्।

देशभरी थामीको सङ्ख्या कति छ?
२०५८ को राष्ट्रिय जनगणना अनुसार १३ हजार हो। तर त्यो सङ्ख्या सही होइन। देशभरि हामी करिब ८० हजार छौँ। ५५ जिल्लामा छरिए पनि दोलखाका २२ गाविसमा थामी बाहुल्य छ। सिन्धुपाल्चोक र रामेछापमा पनि हाम्रो राम्रै उपस्थिति छ।

राज्यबाट थामीहरू के चाहन्छन्?
यसअघिको केन्द्रीकृत सामन्ती राज्यव्यवस्थाको कारण हामी आर्थिक, राजनीतिक र शैक्षिक क्षेत्रमा पछि पर्यौँ । त्यो अवस्थाबाट मुक्तिको लागि थामी बहुल क्षेत्रमा हामीहरूकै राजनीतिक अग्राधिकार हुने स्वशासित क्षेत्रको व्यवस्था हुनुपर्दछ भन्ने हाम्रो माग छ।

राज्य पुनर्संरचना समितिले प्रस्ताव गरेका प्रदेशहरूमध्ये तपाइँ कुनमा पर्नुभएको छ?
तामसालिङ् प्रदेशभित्र। तर यसभित्र पनि हामी थामीहरूको पहिचान झल्कने स्वशासित क्षेत्र चाहन्छौँ। दोलखाको थामी बाहुल्य भएको २२ र सिन्धुपाल्चोकको १३ गाविस मिलाएर थामी स्वायत्त क्षेत्र बन्नुपर्दछ। त्यहाँ थामीहरूको स्वशासन कायम गरिनुपर्दछ। र, उक्त क्षेत्रको प्रमुख पनि थामी नै हुनुपर्दछ। अन्य जातिलाई त्यसमुनिका पदमा समेट्नुपर्दछ।

थामी स्वशासित इलाकामा बसोबास गर्ने अन्य जातजातिले पनि त्यस्तै पहिचान र विशेषाधिकार खोज्लान् नि?
थामी स्वशासित क्षेत्रभित्र रहेका अन्य अल्पसङ्ख्यक जातजातिले पनि आफ्नो पहिचान खोजी गर्ने अधिकार सुरक्षित रहन्छ। थामी स्वशासित क्षेत्रभित्र एक दुईवटा गाविसमा करिब ८०० सुरेल जाति बसोबास गर्छन्। उनीहरूले पहिचान खोजे भने गाविसस्तरमा वा टोलस्तरमा स्वशासित इकाइको व्यवस्था गर्नुपर्दछ। र, सुरेल बाहुल्य गाविसमा उनीहरूकै स्वशासन कायम हुनुपर्दछ।

थामी स्वायत्त क्षेत्रमा अन्य जातिकाले प्रमुख हुन पाउँदैनन्?
त्यहाँको नीति र शासनपद्धतिलाई स्वीकारेर दलीय प्रतिस्पर्धामा आउने साम्राज्यवाद र विस्तारवादका समर्थकहरू बाहेक जो कोहीलाई पनि हाम्रो स्वशासित क्षेत्रमा प्रमुख बन्ने अधिकार रहन्छ।

(“हामी नेवारकै छोरा हौंशीर्षकमा पाक्षिक खबरपत्रिका हिमाल (२०:२/अप्रिल २९-मे १४, २०१०), पृ. ४८मा सभासद् संवाद स्तम्भमा यो अन्तर्वार्ता पहिले प्रकाशित भएको हो।)